Writings
All writings
Essay

कथा

कथा एकादेश बाट सुरु हुन्छ,

कैलेकाॅही अरु कतै बाट पनि

अनि टुङ्गिन्छ यो देश, यो क्षण र यो परिवेशमा आएर।

कथा अनिद्राबाट सुरु हुन्छ,

अर्धनिद्रामा उ जीवित हुन्छ,

र तिमी निदाइसक्दा उसको अन्त्य हुन्छ

हो म त्यै तिमी सानो हुॅदा तिम्री हजुरआमाले सुनाउने कथाको कुरा गर्दैछु।

कथामा पात्र हुन्छन,

कोही राक्षस, कोही राजकुमार त कोही दुखी सुन्दरी,

राजकुमारले राक्षस मार्छ

र बिहे गरेर लैजान्छ दुख पाएकी सुन्दरीलाई

आफ्नो महलकी रानी बनाउन।

कथामा घटना हुन्छन्,

घटनाले महलमा आरामले बसेको राजकुमारलाई

त्यो अनकन्टार गाउँमा जान व्यग्र बनाईदिन्छ,

राजकीय खानदानमा हुर्केको उसलाई

त्यो डरलाग्दो राक्षससँग भिड्ने साहसी बनाईदिन्छ

अनि गाउँमा राक्षसको शोषण सहेर बसेकी युवतीलाई बनाईदिन्छ राजकुमारी।

तर,

तर यति भैसक्दा तिम्री, मेरी, हाम्री हजुरआमाले सुनाउने कथा त सकिन्थ्यो,

सुन्नेले सुनको माला पाउँथ्यो,

भन्नेले फुलको माला पाउँथ्यो

र कथा सिधै वैकुण्ठ जान्थ्यो त्यसरी नै

जसरी ति गाउँकी सुन्दरी राजकुमारसँग जान्थिन

कहिल्यै नदेखेको, नसुनेको उसको राज्यमा।

के कथा यहीँ सकियो त?

होला हाम्री हजुरआमाका लागी कथा यहीँ सकियो होला,

वा त्यो राजकुमारका लागी पनि

जो अब केही समय आफ्नो नयाँ विवाह भोग गर्ला,

केही दिन राजदरबारमा बिताउला

तर अर्को दिन, उसलाई अर्को कथाले बोलाउला

उ अर्को कुनै एकादेशको गाउँमा जाला,

अर्को कुनै राक्षस मार्ला

अनि अर्की कोही सुन्दरीसहित फर्केला।

उ त राजकुमार हो, उसलाई त हरेक कथाले फेरी बोलाउलान

र यसरी नै सकिएला उसको कथा।

तर के कथा ति सुन्दरीको लागि पनि सकियो त?

आफुलाई राक्षसको बन्धकबाट जोगाउने राजकुमारको पछिपछि लागेर आएकी उनी,

राजदरबारको एक कोठीकी बन्दी त बनिनन्?

रानी बन्न आफ्नो सबैथोक छाडेर हिॅडेकी उनी

कतै राजकुमारका सयौँ राक्षस विजयपछीका

सयौँ उपाधिमध्येकि एक त बनिनन्?

राजकुमारले आफ्नो नयाँ विजयको उत्सवपछी छाडेर हिॅडेपछी

उनी,

कतै तिनै उत्सवमध्ये एक मात्र त बनिनन्?

मेरी हजुरआमाको त कथा सकियो

सायद वैकुण्ठ पुगेर फेरी आउन लागिसक्यो

तर त्यही कथाकि तिनै सुन्दरी

आफ्नो कथा सुनाईदिने कसैको पर्खाईमा पो छिन् कि?

कसले सुनाउला उनको कथा?